काठमाडौँ, नेपालका लागि बेलायतका राजदूत रब फेनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो ।
दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दातृ निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै मन्त्री गौतमले अप्रत्याशित बाढी पछिको विकास विपद् प्रतिरोधी गर्ने विषयलाई नेपालले प्राथमिकतामा राख्ने बताइन् ।
भोटेकोशी बाढीबाट निम्तिएको अप्रत्याशित विपद्बाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै राजदूत फेनले सम्पर्क विहिन व्यक्तिहरूको खोजी कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पुनः स्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको राजदूत फेनले जानकारी गराए ।