काठमाडौं, बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा संजीवनी ग्रुपले एक करोड ५१ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा मंगलबार शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, सञ्चालक सौरभ शर्मा एवं सञ्जीवनी ग्रुपका सञ्चालक राजु बस्नेत क्षेत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष सहयोग रकम हस्तान्तरण गरेका हुन् । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपको तर्फबाट सहयोग रकम प्रदान गरिएको हो ।
शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढीका कारण शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति व्यक्त गरी उनीहरूको उद्धार एवं पुर्नस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकारसमक्ष आग्रह पनि गरेको छ ।