काठमाडौं । प्रधानमन्त्री बालेन साहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका छन् । उनले पछिल्लो बाढी तथा विपद् मानव सभ्यताले भोगेको ठूलो संकट भएको भन्दै यसलाई नेपालको मात्र नभई विश्वकै साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन् ।
बुधबार संसद्मा बोल्दै प्रधानमन्त्री साहले बाढीका कारण ठूलो संख्यामा नागरिक घरबारविहीन भएको र कतिपय घटना तथा क्षतिको विवरणसमेत तत्काल सूचना प्रणालीको पहुँचभन्दा बाहिर रहेको बताए । सरकारले विपद्का विषयमा करिब ११ लाख सूचना प्रसारण गरेको उल्लेख गर्दै उनले उद्धार तथा राहतका क्रममा सुरक्षाकर्मीसमेत बेपत्ता भएको अवस्था रहेको बताए ।
बेपत्ता तथा मृतकको पहिचानका लागि आवश्यक प्रक्रिया अपनाइएको उल्लेख गर्दै प्रधानमन्त्री साहले डीएनए सुरक्षित राखेर शव व्यवस्थापन गरिएको बताए । उनले यस विषयमा भ्रममा नपर्नसमेत आग्रह गरे ।प्रधानमन्त्री साहले विपद्को समयमा नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरेको बताए । उनका अनुसार मित्रराष्ट्र चीन र भारतले समेत प्रभावित क्षेत्रको अवस्थाबारे निगरानी गरिरहेका थिए । मौसम तथा भौगोलिक अवस्था अनुकूल भएपछि उद्धारका लागि तत्काल परिचालन हुने प्रतिबद्धता ती देशका उद्धार टोलीले जनाएको उनले बताए ।
उनले सम्भव भएसम्म एक्स्काभेटर तथा हेलिकोप्टर अवतरण गर्न सकिने स्थान पहिचान गरी चीन र भारतका उद्धारकर्तासमेत प्रभावित क्षेत्रमा पुगेको जानकारी दिए । विशेषगरी सुरुङभित्र फसेकाको उद्धार चुनौतीपूर्ण बनेको उनको भनाइ थियो । बाढीका कारण सुरुङभित्र ठूलो मात्रामा हिलो पसेकाले उद्धार सामान्य अवस्थाको जस्तो नभएको उनले स्पष्ट पारे । उनले यसलाई उद्धारका दृष्टिले असाधारण र जटिल अवस्थाका रूपमा व्याख्या गरे ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा उद्धारका विषयमा भएका आलोचनाप्रति पनि प्रधानमन्त्री साहले प्रतिक्रिया दिए । एउटै सुरुङमा लगातार ठूलो संख्यामा डोजर किन परिचालन नगरेको भन्ने प्रश्न उठेको उल्लेख गर्दै उनले धेरै डोजर परिचालन गर्न सकिने अवस्था नरहेको बताए । विभिन्न देशमा विपद् व्यवस्थापन तथा उद्धारमा काम गरेका विज्ञहरूको सुझाव लिएर सरकारले काम गरिरहेको उनको भनाइ थियो । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका आलोचना सम्बन्धित व्यक्तिले आफ्नो बुझाइअनुसार गरेको भन्दै उनले वास्तविक परिस्थितिको कठिनाइलाई समेत बुझ्न आग्रह गरे ।
प्रधानमन्त्री साहले सरकारले आफ्नो क्षमताले भ्याएसम्म उद्धार, राहत तथा व्यवस्थापनका लागि निरन्तर प्रयास गरिरहेको दाबी गरे । पछिल्लो विपद्बाट नेपालले भोगेको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै आगामी दिनमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।