कूटनीतिमा खासगरी परराष्ट्र देशका सवैले थाह पाउनेगरी अलिकति पनि कच्चाकाम भयो भने त्यो देशकै लागि घातक हुन सक्दछ । सत्ता सञ्चालकहरूले त्यसपछि यस्तो परिणाम आउन चाहेर पनि रोक्न सक्दैनन् । त्यसैकारण विज्ञहरूले सधँै र जुनसुकै सरकार आए पनि अरु राष्ट्रले थाह पाउनेगरी आफ्ना कमजोरीहरू प्रकट नगरौँ भनेर सधैँ सुझाव दिइरहेका हुन्छन् । यसो किनभने, यस्तो सानो कमजोरीले पनि धेरै कुरा गुमाउनुपर्ने हुन्छ ।
आन्तरिक रुपमा सत्ता चलाउँदा त्यस्ता सयौं हज्जारौं गल्ती होलान् तर ती सच्याउन सकिन्छ र ती गल्तमा आफू सच्चिने अवसर पनि पाइन्छ तर अन्तराष्ट्रिय सम्बन्धका बारे त्यस्तो अवसर हुँदैन । जस्तो हालकै प्रधानमन्त्रीले एकताका संसद्को रोस्ट्रममा उभिएर नेपाल देशले छिमेकी देशको पनि धेरै ठाउँमा सीमाना मिचेको छ भनिदिँदामात्रै वास्तावमा अर्को छिमेकी देशले कसरी उसले मिचेको भनेर नेपालले मान्दै आएको क्षेत्रलाई वार्तासमेत नगर्ने अवस्थामा पुर्यायो भन्ने देखिरहिएकै छ । अहिले ती क्षेत्रबाट उसको आफ्नै भूभाग प्रयोग गरे जसरी निर्वाध उपयोग गरिहेको अवस्था छ । जो पछिल्लो समय प्रधानमन्त्रीको एउटा भाषणले उब्जाएको भन्ने कतै लुकेको छैन । यसलाई न यी र न अरु कोही आए पनि लामैसमयसम्म सच्याउने अवसर गुमेको मान्छन् विज्ञहरू ।
नयाँ अर्थात् करिब पाँचौ महिनामा हिँडिरहेको सरकारका प्रधानमन्त्रीमाथि अरु पनि कच्चाकाम गरेका भन्ने आरोप छ । यो सरकार निर्माण भएलगत्तै प्रधानमन्त्रीले लिएका अडान राम्रा नराम्रा कस्ता थिए भन्ने आफ्नो ठाउँमा होला तर त्यसबेलाका उनका अडान छोटो समयमा नै काम नलाग्ने नीतिका रुपमा परिणत भए । जो प्रधानमन्त्री आफैंले रोजेको बाटा हो । यो सरकार बनेको साढे चार महिनापछि प्रधानमन्त्रीले आफ्नो पूर्व अडान छाड्दै नेपालका लागि छिमेकी देश भारत र चीनका राजदूतसंग एक्लाएक्लै भेटे ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय र चिनियाँ राजदूतसँगको प्रधानमन्त्रीसँग शिष्टाचार भेटको यो प्रसंगले अव यस्ता भेटघाटहरू निरन्तर जारी रहने भनेर प्रधानमन्त्रीको कार्यालयले नै सन्देश दिएको हो । त्यसपछि अमेरिकी राजदूतलाई भेटियो जो यसअघि प्रोटोकल देखाएर रोकिएको थियो । यहीबाट प्रश्न उठ्छ यसअघि यिनै प्रधानमन्त्रीले प्रोटोकल नमिल्ने भनेर विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिन मानेका थिएनन् भने अहिले फेरी त्यही प्रकारको अर्थात् त्यस्तो भेटघाटको काम प्रोटोकलअन्तर्गत नै कसरी हुन गयो । यसअघि उनैले गरको व्यवस्थाअनुसार दुई पटक विदेशी राजदूतहरूले उनीसँग संयुक्त शिष्टाचार भेटवार्ता गरेका थिए । यो बीचमा यी राजदूतहरूको हैसियत बढुवा पनि भएको छैन । उनी आफँैले बसाएको प्रोटोकलले त्यो परम्परा तोड्ने काम भयो भन्ने सार्वजनिक जानकारीमा ल्याउन आवश्यक छ ।
त्यसबेला विदेशका राजदूतलाई मात्र होइन विदेशबाट आएका मन्त्रीस्तरका प्रतिनिधिहरूलाई पनि छुट्टै नभेट्ने नीति लिइएको कारण अमेरिकाबाट आएका दुई विशिष्ट दूतहरू त्यसै फर्किए । त्यसबेला अमेरिकाका लागि दक्षिण तथा मध्य एसियासम्बन्धी मामिला हेर्ने सहायक विदेशमन्त्री त्यसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत र भारतका अमेरिकी राजदूत यस्तै भेटका लागि नेपाल आएका थिए । यिनले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । अरु त अरु यसरी नभेट्ने भनेकैकारण भारतका विदेश सचिवले नेपाल भ्रमण नै स्थगित गरेका थिए । उनी भारतीय प्रधानमन्त्रीको निम्ता दिन आउँदै थिए । तर नभेट्ने भनेकै कारण त्यो निम्ता पनि रोकियो । यो निम्ता रोकिएपछि फेरि प्रधानमन्त्रीले आफ्नो विशेष दूतलाई भ्रमणको निम्ता माग्न पठाएका कुरा अहिले पनि चर्चामा छन् । यस्तो कच्चाकामले प्रधानमन्त्रीको कद घटायो कि बढायो भन्ने अनुमान गर्न सकिन्छ । दुई देशबीचको कुटनीतिक सम्बन्धमा यस्ता कच्चाकाम भए भने अन्तराष्ट्रिय मञ्चमा देशकै नोक्सानी पर्न सक्दछ । सचिवस्तरको निम्ता अहिले राजदूतमार्फत लिइएको भन्ने पनि चर्चा छ । यस्ता कुराहरूमा छिटोभन्दा छिटो सच्निुपर्छ । नत्र प्रधानमन्त्रीका लागि मात्र होइन देशका लागि पनि घातक हुन सक्दछ ।