नुवाकोट, परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार विदुर नगरपालिका–१, ढुंगे आइपुगेका उनले केरुङमा रोकिएका नेपालीलाई अर्को बाटोबाट नेपाल ल्याउने तयारी गरेको बताएका हुन् ।
प्रारम्भिक जानकारीअनुसार केरुङमा एक हजार जना नेपाली रहेको सूचना आएको उनले जानकारी दिए । ‘उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ’, उनले थपे । सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उनको भनाइ छ । मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पारे ।