काठमाडौं, विकास बैंकहरूमा निष्क्रिय कर्जा अर्थात् एनपीएलको अनुपात घट्दै गएको देखिएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा विकास बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात घटेको हो ।
वित्तीय विवरणअनुसार आव २०८२/०८३ मा १५ वटा विकास बैंकमध्ये आठवटा बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ भने पाँचवटा बैंकमा बढेको छ । दुई बैंकको अवस्था भने यथावत् रहेको छ । औसतमा भने विकास बैंकको निष्क्रिय कर्जा आर्थिक वर्ष २०८१/०८२ मा आठ दशमालव ४२ प्रतिशत रहेकोमा २०८२/०८३ मा घटेर सात दशमलव ७६ प्रतिशतमा झरेको छ । अर्थात् औसत निष्क्रिय कर्जा शून्य दशमलव ६८ प्रतिशत घटेको छ ।
वित्तीय विवरणअनुसार कर्पोरेट डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै सुधार भएको छ । अघिल्लो वर्ष १२ दशमलव ४३ प्रतिशत रहेको निष्क्रिय कर्जा आव २०८२/०८३ मा घटेर छ दशमलव २४ प्रतिशतमा झरेको छ । यसैगरी आव आव २०८२/०८३ सप्तकोशी डेभलपमेन्ट बैंकको १० दशमलव ६५ प्रतिशतबाट सात दशमलव ६८ प्रतिशत, सालपा विकास बैंकको दुई दशमलव ८० प्रतिशतबाट शून्य दशमलव ७९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको छ दशमलव ६९ प्रतिशतबाट चार दशमलव ५७ प्रतिशतमा झरेको छ ।
यसैगरी ज्योति विकास बैंकको निष्क्रिय कर्जा पछिल्लो अवधिमा सात दशमलव ७५ प्रतिशतबाट छ दशमलव ५५ प्रतिशतमा झरेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको तीन दशमलव ३३ प्रतिशतबाट तीन दशमलव २२ प्रतिशतमा झरेको छ । सिन्धु विकास बैंकको निष्क्रिय कर्जा पनि पछिल्लो अवधिमा छ दशमलव शून्य आठ प्रतिशतबाट पाँच दशमलव ९२ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको शून्य दशमलव २८ प्रतिशतबाट शून्य दशमलव २६ प्रतिशतमा घटेको छ । अर्कोतर्फ केही विकास बैंकमा निष्क्रिय कर्जा भने बढेको छ । लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा पछिल्लो अवधिमा चार दशमलव ७१ प्रतिशतबाट बढेर छ दशमलव ९४ प्रतिशत पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको पनि पाँच दशमलव ५२ प्रतिशतबाट छ दशमलव ८७ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चार दशमलव २७ प्रतिशतबाट चार दशमलव ९३ प्रतिशत, कामना सेवा विकास बैंकको तीन दशमलव ४९ प्रतिशतबाट तीन दशमलव ७७ प्रतिशत र गरिमा विकास बैंकको चार दशमलव ६९ प्रतिशतबाट चार दशमलव ७६ प्रतिशत पुगेको छ ।
सबैभन्दा गम्भीर अवस्था भने नारायणी डेभलपमेन्ट बैंकको देखिएको छ । बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्षकै ५० दशमलव ९७ प्रतिशतमा कायम छ । अर्थात् बैंकको कुल कर्जामध्ये आधाभन्दा बढी हिस्सा निष्क्रिय कर्जा रहेको छ । यो अनुपात अन्य विकास बैंकहरूको तुलनामा निकै उच्च हो । यसैगरी मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा पनि दुई दशमलव ९७ प्रतिशतमा स्थिर रहेको
छ । सुरेश राउत