काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा त्यसपछिको विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।
शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् व्यवस्थापनसम्बन्धी हालसम्मको विवरण सार्वजनिक गर्दै शाहले प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका बाबजुद प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा तथा राहतका लागि सरकार अहोरात्र खटिरहेको बताएका हुन्।
उनका अनुसार केहीबेरअघिसम्म हवाई तथा स्थलमार्गमार्फत ९ हजार ४३५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। राहत तथा उद्धारका लागि शनिबार मात्रै थप ७२ उडानसहित कुल ३९४ उडान सञ्चालन गरिएको उनले जानकारी दिएका छन्।
विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको शाहले बताएका छन्। उद्धार कार्यमा विभिन्न स्वयंसेवक तथा विशेषज्ञ टोलीसमेत सक्रिय रहेको उनको भनाइ छ।
उनका अनुसार विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा प्रभावित व्यक्तिको खोजी र उद्धारलाई विशेष प्राथमिकता दिइएको छ। प्रभावित आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ भने रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ।
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त विशेषज्ञ टोली परिचालन गरिएको छ। उद्धारका क्रममा सुरुङको मुख्य भागमा प्वाल बनाएर टोली भित्र प्रवेश गरे पनि अहिलेसम्म भित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएको शाहले उल्लेख गरेका छन्। ठूला उपकरण प्रयोग, ब्लास्टिङ तथा प्वाल फराकिलो बनाउने काम एकसाथ जारी रहेको उनको भनाइ छ।
माथिल्लो त्रिशूली ३ ‘बी’, चिलिमे, लाङटाङ खोला तथा मैलुङ खोला जलविद्युत् आयोजनामा समेत नेपाली सेना र विभिन्न देशका विशेषज्ञ टोलीको समन्वयमा खोजी तथा उद्धार प्रयास भइरहेको उनले बताएका छन्।
२६७ घाइतेको उपचार, १५६ जना डिस्चार्ज
बाढीबाट घाइते भएका २६७ जनालाई उद्धार गरी स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको शाहले बताएका छन्। तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको स्वास्थ्य अवस्थामा समेत सुधार भइरहेको उनको भनाइ छ।
प्रभावित क्षेत्रमा उपचार र मनोपरामर्शका लागि चिकित्सकसहितका टोली खटाइएको तथा बाढीबाट अवरुद्ध भएका स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको उनले जानकारी दिएका छन्।
राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा भएको दाबी
प्रधानमन्त्री शाहले विपद् पीडितका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री राहत कोषका नौ वटा वाणिज्य बैंक खातामा शनिबार मध्यान्हसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ।
यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्। संकलित रकमलाई प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा अन्य आवश्यक क्षेत्रमा प्रभावकारी रूपमा खर्च गर्नेबारे सरकारले तयारी गरिरहेको उनको भनाइ छ।
२६ आश्रयस्थल सञ्चालन, एकै दिन ३ हजार ४५४ जनालाई राहत
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको शाहले बताएका छन्। ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
काठमाडौंमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोट र रसुवाका विभिन्न स्थानमा पुर्याएर वितरणको व्यवस्था मिलाइएको उनले बताएका छन्। राहत वितरणलाई थप प्रभावकारी बनाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, बागमती प्रदेश सरकार तथा स्थानीय संयन्त्रसँग समन्वय भइरहेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता
शाहका अनुसार विपद् प्रभावितका लागि विभिन्न अन्तर्राष्ट्रिय निकाय तथा मित्र राष्ट्रबाट आर्थिक र मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता आएको छ।
एसियाली विकास बैंकबाट बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर, अष्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर तथा प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उनले बताएका छन्।
भारतबाट हालसम्म चार चरणमा कुल ६८।५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको उल्लेख गर्दै शाहले भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाइसकेको र थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्। चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको उनले बताएका छन्।
सञ्चार सेवा पुनः सञ्चालनको प्रयास
बाढीका कारण अवरुद्ध भएका अधिकांश स्थानमा सञ्चार सेवा क्रमशः पुनः सञ्चालनमा आएको शाहले बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगस्वरूप प्राप्त २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको उनले जानकारी दिएका छन्।
बाढीबाट नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएकोमा हाल नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर पुनः सञ्चालनमा आएको उनको भनाइ छ। बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताएका छन्।
वैकल्पिक सडकमा समेत चुनौती
बाढी र पहिरोका कारण क्षति पुगेका मुख्य सडकको विकल्पमा सडक सञ्चालन गर्ने प्रयास जारी रहे पनि भोटेकोशीमा पानीको सतह बढ्नु र कृष्णभीर क्षेत्रमा कटान तथा पहिरो जानुले यातायात सञ्चालनमा चुनौती थपिएको शाहले बताएका छन्।
उनले प्रभावित क्षेत्रसँग सडक सम्पर्क पुनःस्थापना गर्न सम्बन्धित सबै निकायलाई तीव्र गतिमा काम गर्न निर्देशन दिइएको समेत उल्लेख गरेका छन्।
७८१ जनाको शव फेला परेको दाबी
प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको बताएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले जानकारी दिएका छन्।
पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको तथा पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन सुरु गरिएको उनले बताएका छन्। पहिचान गर्न नसकिने शवको हकमा डीएनएलगायत पहिचानमा सहयोग पुग्ने प्रमाण सुरक्षित राखेर मात्रै व्यवस्थापन भइरहेको उनको भनाइ छ।
शाहले विपद्बाट प्रभावित नागरिकको पीडा सरकारले गम्भीर रूपमा बुझेको उल्लेख गर्दै कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित गरिएको बताएका छन्।
“हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं,” उनले फेसबुकमा लेखेका छन्, “नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ।”
प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजामा नपुगेसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।