काठमाडौं, चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) बराबरको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे । राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए ।
नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा आएको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई जानकारी गराए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको पनि उनले जानकारी दिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिएको नेपाललाई चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए । विपत्तिकै कारण दुवै मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उनले बताए । विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नुपरेको उनको भनाइ छ । यसको सामना गर्न नेपाल र चीनबीच हातेमालो जरुरी रहेको अर्थमन्त्री वाग्लेले बताए । यसपटकको बाढीका कारण नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा गरेको उनले बताए ।