काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट तथा सिफारिसको लागि नयाँ कार्यविधि लागू भएको छ । अर्थ मन्त्रालयले मंगलबार नेप्सेको प्रमुख कार्यकारी अधिकृतको छनौट प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ लागू गरेको हो ।
अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कार्यविधिअनुसार नेप्सेको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवार छनौट गरी नियुक्तिका लागि सिफारिस गरिने व्यवस्था छ ।कार्यविधिअनुसार आवेदन राष्ट्रियस्तरका दैनिक पत्रिका, नेप्से र अर्थ मन्त्रालयको वेबसाइटमार्फत १५ दिनको सूचना प्रकाशित गरी आह्वान गरिनेछ । कार्यविधिअनुसार नेप्सेको प्रमुख कार्यकारी बन्नको लागि आवेदन दिने उम्मेदवारले अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, वित्त, सूचना प्रविधि, कानुन वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्नेछ । यसको पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव आवश्यक हुनेछ ।
कार्यविधिले उम्मेदवारका लागि विभिन्न अयोग्यता पनि तोकेको छ । भ्रष्टाचार, नैतिक पतन देखिने फौजदारी कसुर, कालोसूची, कर छली, हितको द्वन्द्व तथा अन्य नियामकीय कारबाहीमा परेका व्यक्तिलाई उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । साथै उम्मेदवार नेपाली नागरिक, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ ।
आवेदनसँग विस्तृत जीवनी (बायोडाटा), शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र, स्वघोषणा तथा अधिकतम पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना (बिजनेस एक्सन प्लान) अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । आवेदन दस्तुर पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कार्यविधिअनुसार आवेदनले पेस गर्ने कार्ययोजनामा पुँजी बजारको अवस्था, नेप्सेको संस्थागत सुधार, सूचना प्रविधि, जोखिम व्यवस्थापन, लगानीकर्ता संरक्षण, सुशासन तथा आगामी सुधारका स्पष्ट रणनीति र कार्यान्वयन योजना समेटिएको हुनुपर्ने व्यवस्था गरिएको छ । संक्षिप्त सूची (सर्टलिस्ट)मा परेका उम्मेदवारले उक्त कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नुपर्नेछ ।
छनौट प्रक्रिया दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा शैक्षिक योग्यता, कार्यअनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकन गरी ५५ अंक प्रदान गरिनेछ भने दोस्रो चरणमा नेतृत्व क्षमता, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ४५ अंक दिइनेछ । दुवै चरणको कुल १०० अंकका आधारमा अन्तिम मूल्यांकन गरिनेछ । पहिलो चरणबाट उत्कृष्ट पाँच जनासम्म उम्मेदवारलाई सर्टलिस्ट गरी प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइने कार्यविधिमा उल्लेख छ । त्यसपछि प्राप्त कुल अंकका आधारमा उत्कृष्ट तीन जनाको नाम वर्णानुक्रमअनुसार नियुक्तिका लागि सिफारिस गरिने व्यवस्था कार्यविधिले गरेको छ । आवेदन तीन जनाभन्दा कम परे थप सात दिनको म्याद दिएर पुनः आवेदन आह्वान गर्न सकिने प्रावधान पनि राखिएको छ ।
नयाँ कार्यविधिले नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रियालाई स्पष्ट, मापदण्डमा आधारित र प्रतिस्पर्धात्मक बनाउँदै पुँजी बजारको नेतृत्व चयनमा पारदर्शिता र सुशासनलाई थप सुदृढ बनाउने अर्थ मन्त्रालयको भनाइ छ । यसैबीच नेपाल स्टक एक्सचेन्जको रिक्त रहेको प्रमुख कार्यकारी पदको लागि आवेदन माग गरेको छ । अर्थमन्त्रालयले यसअघि सोमबार सहसचिव महेश आर्चायको संयोजकत्वमा नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौंट तथा नियुक्तीको लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समिती मंगलबार १५ दिने सूचना जारी गर्दै नयाँ प्रमुख कार्यकारीको लागि खुला प्रतिस्पर्धाद्वारा आवेदन माग गरेको हो ।