काठमाडौं, नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ जारी गरेको छ । मौद्रिक नीतिका उद्देश्य हासिल गर्दै वित्तीय बजारमा ब्याजदरको स्थिरता कायम राख्ने तथा आवश्यक तरलता व्यवस्थापनका लागि खुला बजार कारोबार सञ्चालन गर्ने उद्देश्यले कार्यविधिको नवौं संशोधन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कार्यविधिअनुसार यो व्यवस्था गर्भनरबाट स्वीकृत भएको मितिदेखि नै लागू हुनेछ । संशोधित कार्यविधि नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा खुला बजार कारोबार विनियमावली, २०७८ ले दिएको अधिकार प्रयोग गरी तयार गरिएको राष्ट्र बैंकको भनाइ छ । कार्यविधिले खुला बजार कारोबारलाई नियमित खुला बजार कारोबार र संरचनात्मक खुला बजार कारोबार गरी दुई प्रकारमा वर्गीकरण गरेको छ । वित्तीय बजारमा देखिने तरलताको अवस्था, मौद्रिक नीतिका उद्देश्य तथा बजारको आवश्यकताअनुसार नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको पनि कार्यविधिमा उल्लेख छ ।
संशोधित कार्यविधिमा वित्तीय बजारमा देखिने न्यून वा अधिक तरलताको व्यवस्थापन, अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा राख्ने व्यवस्था तथा आवश्यकताअनुसार सोझै खरिद–बिक्री, रिपो÷रिभर्स रिपो, निषेध संकलनलगायतका मौद्रिक उपकरण प्रयोग गर्न सकिने प्रावधान समावेश गरिएको छ । यसैगरी निषेध संकलन उपकरणसम्बन्धी व्यवस्थामा बजारमा अधिक तरलता देखिएमा बैंकले बोलकबोलमार्फत निषेध संकलन गर्न सक्ने, यसको अवधि, रकम, ब्याजदर र निष्कासन मिति समिति वा विभागले निर्धारण गर्ने तथा सूचना वेबसाइट वा विद्युतीय प्रणालीमार्फत सार्वजनिक गरिने उल्लेख गरिएको छ ।
कार्यविधिमा निषेध संकलन उपकरणमा सहभागी हुन काउन्टरपार्टीले तोकिएको समयभित्र बोलपत्र पेस गर्नुपर्ने, न्यूनतम बोल रकम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँका गुणकमा आवेदन दिन सकिने व्यवस्था रहेको छ । त्यसैगरी, स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंकको खाताबाट डेबिट गरी जम्मा गरिने तथा निषेध संकलनको अवधि पूरा भएपछि साँवा र ब्याज भुक्तानी गरिने व्यवस्था पनि संशोधित कार्यविधिमा समावेश गरिएको छ ।