काठमाडौँ, काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गा मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको सवारीसाधन, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, नगद, सवारीसाधन र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।