काठमाडौं, एलपी ग्यास उद्योग संघ नेपालले ग्यास अभाव हुने त्रासमा अनावश्यक ग्यासको लागि लाइन नबस्न उपभोक्तालाई अपिल गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी ग्यास आपूर्तिमा कुनै समस्या नरहेकोले आत्तिएर अनावश्यक ग्यास भर्न लाइनमा नबस्न आग्रह गरेको हो ।
संघका अनुसार पछिल्ला चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात भएकोले केही बजारमा ग्यासको अभाव देखिएको हो । संघले तत्कालका लागि पर्याप्त मौज्दात भएका उपभोक्तालाई ग्यास भर्न लाइनमा नबस्न आग्रह गर्दै बजार सहज बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएको छ । संघद्वारा जारी अपिलअनुसार विगतमा तेस्रो मुलुकमा उत्पन्न अन्तर्राष्ट्रिय द्वन्द्वका कारण एलपी ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) ग्यास वितरण गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएपछि आयात नियमित भएको र पुनः पूर्ण सिलिन्डर (१४.२ केजी) वितरण प्रणाली लागू गरिएको छ ।
संघका अनुसार आयात नियमित भए पनि लामो समयसम्म आधा सिलिन्डर वितरण भएको र चार महिनामा ठूलो परिमाणमा आयात घटेको तथा ग्यास अभाव हुने आशंकाले उपभोक्ताले एकैपटक सबै खाली सिलिन्डर भर्न खोज्दा बजारमा कृत्रिम चाप सिर्जना भएको हो । संघले बजारलाई छिट्टै सामान्य बनाउन नेपाल आयल निगम, ग्यास उद्योग, विक्रेता र उपभोक्ताबीच समन्वय आवश्यक रहेको जनाएको छ ।
एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न संघले आग्रह गरेको छ । संघले विक्रेतालाई पनि पारदर्शी रूपमा वितरण गर्न, उद्योगलाई नियमित आपूर्ति गर्न तथा निगमलाई बजार सहज नभएसम्म नियमितभन्दा बढी ग्यास आयात गर्न आग्रह गरेको छ । संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सबै पक्ष इमान्दार र जिम्मेवार बनेमा ग्यास बजार छिट्टै सहज हुने बताएका छन् ।