काठमाडौं, ग्लोबल आईएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलव पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार, हालको आधारदरमा न्यूनतम ब्याजदर पाँच दशमलव २५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ । साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ ईभी गाडी किन्ने ग्राहकहरुको लागि तीन वर्षको लागि पाँच दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम दुई प्रतिशत प्रिमियम थप हुनेछ ।
साथै, ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरुलाई कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ । ग्राहकहरुले कागजपत्र पूरा गरेपश्चात् बैंकले गाडी किन्नको लागि अधिकतम तीन दिनमै स्वीकृतिपत्रसमेत प्रदान गर्नेछ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरूसमेत हात पारेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले तीन सय ४१ वटा शाखा कार्यालय, तीन सय ६६ वटा एटीएम, एक सय ४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।