काठमाडौं, नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांगे्रसले साउन ६ गते बुधबार ग्रीन रन आयोजना गर्न लागेको हो ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन ‘ग्रिन रन’ आयोजना गर्ने निर्णय गरेको पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किमी दौड आयोजना गर्न लागेको बताए । उनका अनुसार दौड लगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल हुनेछ । समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गरिने उनले बताए ।
प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरूषलाई अलग–अलग पुरस्कारको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै चौथो, पाँचौ र छैटौँलाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । उनका अनुसार विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ । कांग्रेसले ‘ग्रीन रन’मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ ।
सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उनले बताए । यसैगरी पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने जनाएको छ । यसैगरी साउन ७ गते पार्टीको नविन अभियान घोषणा सहितको कार्यक्रम हुने उनले बताए ।