ललितपुर, ललितपुर महानगर–पालिका–२३ धापाखेलस्थित जेम्स स्कुलको उकालोमा सडकको अवस्था जीर्ण बन्दै गएपछि स्थानीयवासी तथा व्यवसायीले सास्ती खेपिरहेका छन् । बिग्रिएको सडकका कारण उक्त क्षेत्रमा दैनिक ठूला तथा साना गरी आधा दर्जनभन्दा बढी दुर्घटना हुने गरेको स्थानीयको दाबी छ ।
सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् । सामान्य वर्षा हुँदा सडक हिलाम्मे बन्ने र घाम लाग्दा धुलो उड्ने समस्याले आसपासका व्यवसायीसमेत प्रभावित भएका छन् । सडक छेउमै व्यवसाय सञ्चालन गर्दै आएकाहरूका अनुसार धुलो पसलभित्रै पस्ने र ग्राहकसमेत प्रभावित हुने गरेका छन् । सडककै छेउमा रेस्टुरेन्ट तथा क्याफे सञ्चालन गर्दै आएकी व्यवसायी विपना बस्नेत सडकको अवस्थाले आफ्नो व्यवसायमा प्रत्यक्ष असर परेको बताउँछिन् । सडक बिग्रिएपछि पसलभित्र धुलो पस्ने गरेको र ग्राहकहरूलाई समेत समस्या हुने गरेको उनको गुनासो छ ।
स्थानीय जनप्रतिनिधिलाई पटक–पटक सडकको अवस्थाबारे जानकारी गराउँदा चाँडै निर्माण हुने आश्वासन पाए पनि डेढ वर्षसम्म कुनै ठोस काम हुन नसकेको बस्नेत बताउँछिन् । ‘हामी व्यवसाय गर्ने मानिसले राज्यलाई नियमित कर तिरिरहेका हुन्छौं । तर हामीले तिरेको कर यस्ता आधारभूत पूर्वाधारमा सही रूपमा सदुपयोग भइरहेको छ कि छैन भन्ने प्रश्न उठ्छ,’ उनको गुनासो छ । जेम्स स्कुल नजिकै किराना पसल सञ्चालन गर्दै आएका बलराम महर्जनको समस्या पनि उस्तै छ । सडकको खराब अवस्थाका कारण वर्षाको पानी पसल तथा आसपासका क्षेत्रमा पस्ने गरेको उनले बताए ।
वडाले पटक–पटक ग्राभेल गरेर सडक सुधारको प्रयास गरे पनि उकालोबाट आएको पानीले ग्राभेल, गिटी र माटो बगाएर पसल आसपासमै थुपार्ने गरेको उनको भनाइ छ । सडकमा खाल्डाखुल्डी र असहज अवस्था भएकै कारण गाडी तथा साना सवारीसाधन दुर्घटनामा पर्ने गरेको उनले बताए । ‘ललितपुर महानगरपालिकाजस्तो ठाउँमा पनि सडकको यस्तो अवस्था देखिनु दुःखद् हो,’ महर्जनले भने ।
सडकको अवस्थाबारे जानकारी लिन तथा समस्या समाधानका लागि सांसद तोसिमा कार्की, महानगरका जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूले पटक–पटक स्थलगत अवलोकन गरे पनि निर्माणको काम अघि बढ्न नसकेको स्थानीयको गुनासो छ ।
पुल बन्यो, सडक अलपत्र
धापाखेलको यो सडक लामो समयदेखि किन अलपत्र परेको हो भन्ने विषयमा ललितपुर महानगरपालिका–२३ का वडा अध्यक्ष जीवन महर्जनसँग बुझ्दा सडक निर्माणको समस्या विगतको पूर्वाधार निर्माणसँग जोडिएको बताए । उनका अनुसार करिब दुई वर्षअघि उक्त स्थानमा जम्मा १४ फिट चौडाइको सडक थियो । प्रदेश सरकारको कार्यालयले बजेट विनियोजन गरेर त्यहाँ १४ मिटरको पुल निर्माण गरेपछि सडकसमेत बिग्रिएको हो ।
पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आए पनि सडक निर्माणका लागि प्रदेश सरकारबाट बजेट उपलब्ध हुन नसकेको वडा अध्यक्ष महर्जनले बताए । त्यसपछि सडक निर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरिएको उनको भनाइ छ ।
सडक निर्माणका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाएको थियो । सुरुमा ३५ दिने टेन्डर आह्वान गर्दा कुनै पनि कम्पनीले आवेदन नदिएपछि पुनः २१ दिने टेन्डर आह्वान गरिएको थियो । त्यसमा पनि आवेदन नपरेपछि सात दिने टेन्डर आह्वान गर्दा समेत निर्माण कम्पनी सहभागी नभएको अध्यक्ष महर्जनले बताए ।
त्यसपछि सडकलाई ढलान गरेर निर्माण गर्ने विकल्प अघि सारिएको र त्यसको लागत स्टेटमेन्ट करिब १ करोड ५ लाख रुपैयाँ पुगेको उनले जानकारी दिए । हालै पुनः टेन्डर आह्वान गर्दा भने ४७ वटा निर्माण कम्पनीले टेन्डर प्रक्रियामा सहभागिता जनाएको वडा अध्यक्ष महर्जनको दाबी छ । नयाँ नियमअनुसार टेन्डर प्रक्रिया अघि बढेकाले केही समय लाग्ने र भदौदेखि सडक निर्माणको काम सुरु हुने उनले बताए ।