काठमाडौं । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भागबाट कटान गरेपछि सडक भासिँदै गएर आवागमन पूर्ण रूपमा ठप्प भएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीले सडक कटान गरेपछि केही भाग भासिएको छ, जसका कारण सडक सञ्चालन गर्न नसकिने अवस्था आएको छ।
आज बिहान केही समयका लागि सडक अवरुद्ध भए पनि पुनः सञ्चालनमा आएको थियो। तर केही समयमै त्रिशूली नदीको बहाव थप बढ्दै गएपछि सडकमा थप जोखिम उत्पन्न भएको र सडक पुनः पूर्ण रूपमा बन्द गरिएको हो। सडक अवरुद्ध भएपछि काठमाडौं आउने तथा मुग्लिन हुँदै विभिन्न जिल्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरू पनि अलपत्र परेका छन्।हाल सम्बन्धित निकायले सडकको अवस्था तथा नदीको बहावको निरन्तर निगरानी गरिरहेको छ। बाढीको बहाव कम भएपछि मात्र सडक मर्मत तथा सञ्चालनका लागि आवश्यक काम अघि बढाइने बताइएको छ।