काठमाडौं, सिंगो देश यतिखेर महाविपतिसँग जुधिरहेको छ, लडिरहेको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीको सबैभन्दा ठूलो प्रभाव रसुवा, नुवाकोट, धादिङ, चितवन आदि क्षेत्रमा परे पनि यसको असर सिंगो देशमा परेको छ । सिंगो देशबासी रोएका छन्, हामीलाई दुःखसुखमा साथ दिने हाम्रा छिमेकी देश र ती देशका शुभचिन्तकहरू रोएका छन् । विदेशमा रहेका हाम्रै आफन्त, दाजुभाइ रोएका छन् । नुवाकोटको वेत्रावती, टिमुरे, खाल्टेलगायतका क्षेत्रमा छरिएका भग्नावशेष, पुरिएका लास, आफन्त गुमाएकाहरू, किलामा बाँधिएका निरिह पशुचौपायहरू, हिजोको दिनसम्म हराभरा, हाँसीखुसी रहेको बजार क्षेत्र एकै पटक खण्डहर बन्दा सबैको आँखा रोएका छन्, रसाएका छन् । ती रसाएका आँखाहरू ओभानो हुन धेरै समय लाग्नेछ ।
रसुवा बाढीकै कुरा गर्दा अहिलेसम्मको तथ्यांकअनुसार छ सयभन्दा बढीको लास भेटिसकेको छ भने सयौँको सख्यामा अझै सम्पर्कविहीन भएका छन् । सिंगो बस्ती नै बगाउँदा त्यहाँको मानवीय एवं भौतिक क्षतिको त लेखाजोखा नै छैन । दर्जनौ हाइड्रोपावर कम्पनीहरू, नौवटा वाणिज्य बैंकहरूका शाखा र त्यहाँ रहेको नगद सबै बगाएको छ । साना–ठूला सबै गरी २२ वटा भन्दा बढी पुल बगाएको छ भने बाढी प्रभावित क्षेत्रको झण्डै ४१ किलोमिटर सडक क्षतविक्षत भएको छ । सरकार प्रारम्भिक भनाइअनुसार यो क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढीको भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ । यो अवस्थामा सबैले आफूले सक्दो सहयोग देशलाई गरिरहेका छन् । कोही कसैसँग पनि आग्रह पुर्वाग्रह नराखी स्वतस्र्फु रूपमा सक्ने सहयोग गरिरहेका छन् । सहयोग भनेको सहयोग नै हो, यसलाई विशुद्ध रूपमा सहयोगकै रुपमा लिनुपर्छ । सहयोग धेरै वा थोरै हुदैन, सहयोग नै हो । त्यही कारण पनि देशदेखि परदेशसम्म, आफन्तदेखि परदेशीसम्म अनि स्वदेशीदेखि विदेशीसम्मले सयोग गरिरहेका छन् । प्रारम्भिक तथ्यांकअनुसार कतिपय दाता राष्ट्रहरूले सहयोग गर्ने घोषणा गरेका छन्, हुन सक्छ, त्यो सहयोग आर्थिक वा भौतिक नै किन नहोस् ।
देशमा रहेका बैंक तथा वित्तीय संस्था, औद्योगिक घराना, व्यक्ति, परिवार, तथा समुदायले बाढीपीडितको लागि सहयोग गरिरहेका छन् । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिरहेका छन् । यसरी देशदेखि परेदेशसम्मबाट सहयोग रकम जुट्ने क्रममा सहयोग दिने र लिने व्यक्ति तथा समूह, संस्थाको केही फोटोहरू सायद अहिलेको समयमा अलि असहज भएको जस्तो देखिन्छ । सायद त्यो असहज यो पंक्तिकारलाई मात्र लागेको भन्नेहरू पनि हुन सक्छन्, तर मलाई लाग्छ, त्यो असहज जसले छातीमा हात राखेर विपति पीडित जनताको अवस्थालाई हेर्छ र सोच्छ ती प्रत्येक व्यक्तिलाई केही असहज लाग्छ । सहयोग दिनु पर्छ, लिनु पर्छ, त्यो हामी नेपालीको संस्कार हो, यो संस्कार हामी सबैले पुरा गर्नुपर्छ । यो हाम्रो समाज र सिंगो राष्ट्रप्रतिको साझा दायित्व पनि हो ।
सहयोग दिँदा र लिदा सायद फोटो खिच्नै पर्छ भन्ने कँही कतै उल्लेख भएको छैन होला । सहयोग गरेपछि सामाजिक सञ्जालमा फोटो राखेर लाइक सेयर गर्दै मैलै सहयोग गरेँ है भनेर प्रचारप्रसार गर्नु पनि पर्दैन होला । किनकि सहयोग गरेको रेर्कड त राज्यको कुनै नै कुनै निकायमा सुरक्षित हुन्छ नै । सहयोग लिँदा र दिँदा विशेषगरी हाँसेर फोटो खिचाउनै पर्छ भन्ने पनि छैन, होला । किनकि यो सहयोग कुनै कसैको विवाह पार्टीको लागि दिएको गिफ्ट होइन, कसैको बर्थ पार्टीको लागि दिएको गिफ्ट पनि होइन, कसैको एनिभर्सरीको लागि दिएको गिफ्ट पनि होइन, यदि त्यस्तो थियो भने फोटो खिच्दा हाँस्दा पनि हुन्थ्यो । तर यो सहयोग बाढीका कारण आफन्त गुमाएकाहरूको आफन्तहरूको लागि, रोएका, भिजेका आखाँहरूको लागि हो, यो भिजेका आँखाहरूलाई जसले जति सक्छ, जहाँबाट सक्छ सहयोग गरौँ । तर सहयोग गर्दा, फोटो खिच्दा कहाँ हाँसेर पोज दिने, कस्तो फोटो खिच्ने त्यो पनि ख्याल गरौँ । हाम्रो हाँसो असहज नबनोस् । हाँस्न पाइन्छ त्यो सबैको नैसर्गिक अधिकार हो, तर कहाँ हाँस्ने, कस्तो अवस्थामा हाँस्ने कुन प्रसङ्गमा हास्ने, कुन प्रसङ्गमा मुस्कुराउने त्यो पनि ख्याल राखौँ ।