काठमाडौं, स्कोडा नेपालले नयाँ पुस्ताको कोडियाक एसयूभी सार्वजनिक गरेको छ । स्कोडा अटोको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ मा नयाँ कोडियाक सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ कोडियाक सात सिट क्षमताको प्रिमियम एसयूभी हो । यसमा एर्गो सिट, म्याट्रिक्स एलईडी हेडलाइट र स्मार्ट डायल्सलगायतका सुविधा छन् । कम्पनीले नयाँ मोडललाई युरोपेली डिजाइन, आराम र प्रविधिमा केन्द्रित एसयूभीका रूपमा प्रस्तुत गरेको छ । नयाँ कोडियाक तीन भेरियन्टमा उपलब्ध हुनेछ । लाउन्जको मूल्य २ करोड १९ लाख रुपैयाँ, स्पोर्टलाइन र सिलेक्सन एल एन्ड केको मूल्य समान २ करोड ३९ लाख रुपैयाँ तोकिएको छ । गाडी सार्वजनिक गर्दै स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकमार्फत नेपालमा युरोपेली लक्जरी एसयूभीको नयाँ अनुभव प्रस्तुत गर्न खोजिएको बताए ।
‘नयाँ कोडियाकका साथ हामी नेपालमा केवल एउटा गाडी मात्र ल्याइरहेका छैनौं, लक्जरी कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट अवधारणा ल्याइरहेका छौं’, अग्रवालले भने । नयाँ कोडियाक काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा अटो शो २०२६ को स्कोडा पेभिलियनमा प्रदर्शनमा राखिएको छ । कम्पनीले देशभरका आधिकारिक स्कोडा शोरुमबाट यसको बुकिङ खुला गरिएको जनाएको छ ।