काठमाडौं, काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरको ५७ औँ कार्यपालिकाको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकममध्ये महानगर विपद् व्यवस्थापन कोषबाट ३ करोड रुपैयाँ प्रदान हुनेछ । बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, सहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिने महानगरले जनाएको छ ।
महानगरले खाद्यान्न, लत्ता कपडा, इन्डक्सनसहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिनलगायतका साधन र सामग्री तथा आवश्यकताअनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उद्धारसंगै दैनिक जीवन सहज बनाउन महानगरले नियमित सहयोग गर्ने बताइन् । बैठकले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी, पेसाकर्मीहरुलाई आफ्नो सामथ्र्यअनुसार विपद् व्यवस्थापनमा सहयोगका लागि आहृवान गर्ने निर्णय गरेको छ । यसको व्यवस्थापनका र सहजीकरणका लागि राष्ट्रिय सभागृहमा तत्काल सहायत कक्ष सञ्चालनमा ल्याइने महानगरले जनाएको छ । यस्तै बाढी परेका महानगरवासीहरुको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गरी सबै वडा कार्यालयबाट सूचना तथा विवरण संकलन गर्न सूचना तथा प्रविधि विभागलाई निर्देशन दिएको छ ।
महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवासमेत सुरु गरेको छ । शुक्रबारबाट महानगरले सो सेवा सुचारु गरेको हो । शुक्रबार१९ जनालाई काठमाडौँ ल्याएको महानगरले शनिबारबाट दुईवटा सवारी साधन सञ्चालनमा ल्याएको छ । २ वटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने ००६ ख ९३३९ नम्बरको गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो । यसमा १० जना यात्रु अट्टाउँछन् । निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि ब्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ । यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।