काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले पोखरा–२७ स्थित दीपाङ तालको समग्र विकासका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् ।
दीपाङ ताल क्षेत्र अवलोकन गरेपछि मन्त्री पौडेलले तालको संरक्षण र विकासका लागि स्थानीय तह तथा सरोकारवाला संस्थाहरूले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । उनले देशभरका धेरै विकासका आवश्यकता हुँदाहुँदै पनि दीपाङ तालको महत्वलाई ध्यानमा राखेर पाँच करोड रुपैयाँ बजेट छुट्याइएको उल्लेख गरे । मन्त्री पौडेलले तालको सीमांकन, मापदण्ड निर्धारण, संरक्षण तथा स्थानीय बासिन्दाका जायज माग सम्बोधनमा वडा कार्यालयको भूमिका महत्वपूर्ण रहने बताए । प्रभावित जग्गाधनी र स्थानीय समुदायसँग सहकार्य गर्दै उपयुक्त समाधान निकाल्नुपर्नेमा उनले जोड दिए ।
यस्तै उनले कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थलको संरक्षण र प्रवर्द्धनका लागि पनि ५० लाख रुपैयाँ छुट्याएको बताए । उक्त क्षेत्रको ऐतिहासिक, साहित्यिक र पर्यटन महत्वलाई उजागर गर्ने गरी विकास गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री पौडेलले स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय गरेर योजना कार्यान्वयन गर्न सके दीपाङ ताल र लेखनाथ जन्मस्थललाई गण्डकी प्रदेशका महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।