काठमाडौं, सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल सहिद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन् ।
२०८३ साउन २५ गते जारी संयुक्त प्रेस विज्ञप्तिमार्फत उनीहरूले सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकारलाई तत्काल निर्णय लिन आग्रह गरेका हुन् । सरकारले पीडित परिवारसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गर्दा पीडितको पीडा र जनआक्रोश थप बढ्दै गएको तथा यसले गम्भीर परिस्थिति निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ ।
सरकार र पीडित परिवारबीच भएको लिखित सम्झौतामा घटनामा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाइएको थियो । तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुन नसकेको भन्दै विज्ञप्तिमा सरकारको कार्यशैलीप्रति प्रश्न उठाइएको छ ।
विशेषगरी काठमाडौंमा उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको शव एक सातादेखि अन्त्येष्टि हुन नसकेको विषयलाई उनीहरूले गम्भीर र दुःखद् भनेका छन् । मृतकका आफन्तले सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकारसमेत कुण्ठित भएको भन्दै सरकारले पीडितको धैर्यको थप परीक्षा नलिन आग्रह गरिएको छ । संयुक्त विज्ञप्तिमा देवानगञ्ज घटनाका मृतक ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहाको गोलबजार घटनाका मृतक गणेश यादव तथा उपचारका क्रममा निधन भएका रविन्द्र मेहतालाई तत्काल सहिद घोषणा गर्न माग गरिएको छ ।
त्यसैगरी, सरकारसँग भएको सम्झौताअनुसार क्षतिपूर्ति, राहत तथा रोजगारीको व्यवस्था तत्काल गर्न पनि माग गरिएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ । सरकारले तत्काल न्यायपूर्ण ढंगले समस्या समाधान नगरे शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ । संयुक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम मिया अंसारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले हस्ताक्षर गरेका छन् ।