जनकपुरधाम,धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आँच आउन नदिन सर्वपक्षीय बैठकले महत्वपूर्ण निर्णय गरेको छ। सुनसरीमा भएको घटनापछि धनुषामा पनि संवेदनशील गतिविधि देखिएसँगै बसेको सद्भाव बैठकले विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी तथा सरकारी वा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने स्पष्ट गरेको हो। यदि तिमी फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष फैलाउने, एकअर्काप्रति घृणा भड्काउने वा सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न हुन्छौ भने त्यस्ता गतिविधि नियन्त्रण गरी कानुनी कारबाही गरिने बैठकको निर्णय छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्न समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, विभिन्न सङ्घसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। बैठकले आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय पनि गरेको छ। बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी, हिन्दु तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।