काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकमा उनले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका हुन् ।
उनले भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिए । उनले सवारीसाधन स्क्यानर जडान गर्न आवश्यक सहयोग मन्त्रालय गर्ने प्रतिवद्धता पनि जनाए । साथै उनले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन निर्देशन दिए । भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न पनि उनले आग्रह गरे । यस्तै उनले व्यवसायीलाई तर्साएर नभई प्रणाली सिकाएर करको दायरामा ल्याउन सुझाव दिए ।
यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए । ‘नेपालमा कर संकलनको विगतको तथ्यांक हेर्दा राजस्व संकलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सैह्य हुँदैन’, उनले भने । उनले सरकारले कर संकलनका लागी ल्याएका करदाता प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गर्न पनि निर्देशन दिए । कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको उनले बताए । नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।
कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्यायले कर र राजस्वका विविध क्षेत्रको ह्रासको कारण पहिल्याउन मातहतका अधिकृतहरूलाई निर्देशन दिए । बाहिर देखिएको आर्थिक गतिविधि र कर तथा राजस्वको तथ्यांकमा बेमेल रहेको भन्दै उनले कमी कमजोरी औल्याएर सच्याउन निर्देशन दिए । मन्त्रालयका राजस्व महाशाखा प्रमुख एवं सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको विगत, वर्तमान स्थिति र आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिको चुनौतीबारे प्रस्तुतीकरण दिएका थिए । भन्सार विभागका महानिर्देशक यमलाल भूसालले गतवर्ष भन्सार विभागले पाएको राजस्व लक्ष्य र प्राप्तिको अवस्था तथा आगामी वर्षको लक्ष्य प्राप्तिको योजना प्रस्तुत गरेका थिए । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना र कर प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि विभाग लागिपरेको बताए ।