काठमाडौं , धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रिमाललाई बिहीबार (साउन ७ गते) काठमाडौंको सिफलबाट पक्राउ गरेको हो । नेपाल प्रहरीका अनुसार बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा रिमाल फरार प्रतिवादीका रूपमा रहेका थिए । उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर राणाले जानकारी दिए ।
यसै प्रकरणमा व्यवसायी दीपक भट्टसमेत मुछिएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा भट्ट हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूमाथि अवैध रूपमा सेयर ‘ट्रान्सफर’ गरेको आरोप लागेको छ । सोही आरोपमा अनुसन्धान अघि बढाउने क्रममा रिमाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।