काठमाडौं, नेपालमा एक महिनामा ७१ हजार सात सय ७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को जुलाइमा सो संख्यामा पर्यटकहरू नेपाल भित्रिएका हुन् । गत वर्षको जुलाइ महिनाको तुलनामा २ दशमलव ३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको बोर्डले जनाएको छ । सन् २०२५ को जुलाइमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
पर्यटन बोर्डका अनुसार जुलाइमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२ दशमलव ७३ प्रतिशत हो । जुलाइमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । जुलाइ २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको जुलाइमा आएको ६ हजार ८९० को तुलनामा ६१ दशमलब ०९ प्रतिशत बढी हो ।
सन् २०१९ को जुलाइमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए । यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८ दशमलव ६५ प्रतिशत माथि पुगेको छ । त्यसैगरी तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट जुलाइमा ७ हजार ७५४ जना पर्यटक आएका छन् । यस्तै, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन् ।दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी छ । जुलाइमा सार्क मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१ दशमलव ४६ प्रतिशत हो ।
तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार ७८७ को तुलनामा ११ दशमलव ९३ प्रतिशत कम छ । भुटानबाट आउने पर्यटकको संख्या ९९१ जना रहेको छ । यस्तै पाकिस्तानबाट आउने पर्यटक ३ दशमलव ९४ प्रतिशतले बढेर ४७५ पुगेका छन् । श्रीलंकाबाट ५८१ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको ५९८ भन्दा कम हो । माल्दिभ्सबाट ३९ जना जना नेपाल आएका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाइमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४ दशमलव २८ प्रतिशत हो । अघिल्लो वर्षको जुलाइमा १३ हजार ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस आधारमा हेर्दा अन्य एसियाली बजारमा ३३ दशमलब ०५ प्रतिशत वृद्धि भएको छ । दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन् ।