काठमाडौँ । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट प्रतिष्ठित ‘रोड टु यूएफसी’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनल प्रतिस्पर्धामा ढाँटले न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
तीन राउण्डसम्म चलेको प्रतिस्पर्धामा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भए। प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक बनेको थियो। तीनमध्ये एक जना जजले ढाँटको पक्षमा २९–२८ अंक दिए भने अर्को जजले मर्डोकको पक्षमा २९–२८ अंक दिएका थिए।
उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल बाधा पार गरेका ढाँट अब ‘रोड टु यूएफसी’को उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली फाइटरको यस सफलतासँगै अन्तर्राष्ट्रिय एमएमए क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनेको छ।