काठमाडौं, नेपाल उद्योग परिसंघले रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न अपिल गरेको छ । परिसंघले विपत्तिको समयमा प्रभावित नागरिकहरूलाई अत्यावश्यक राहत सामग्री उपलब्ध, पुनर्निमाण तथा आवश्यक कार्य गर्न गराउन आग्रह गरेको हो ।
परिसंघले विपद प्रतिकार्य समिति स्थापना गरी राहत सामग्री संकलन तथा हस्तान्तरणको काम अगाडि बढाएको जनाएको छ । ‘यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरू, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरूलाई अपिल गर्दछौं’, परिसंघले भनेको छ । साथै, प्रभावित नागरिकहरूको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन परिसंघले सरकारलाई आग्रह गरेको छ ।
बाढी प्रभावितलाई ह्याम्स अस्पतालले निःशुल्क उपचार गर्ने
काठमाडौं (आर्थिक) । ह्याम्स अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूलाई निःशुल्क उपचार गर्ने भएको छ । अस्तपालले बिहीबार एक विज्ञप्ति जारी प्रभावित नागरिकहरूलाई निःशुल्क आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्न ह्याम्स अस्पताल प्रतिबद्ध रहेको जनाएको हो ।
साथै, नेपाल सरकारसँगको समन्वयमा आवश्यकतानुसार मेडिकल टिमसहित विपद् प्रभावित स्थलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नसमेत अस्पताल पूर्ण रूपमा तयारी अवस्थामा रहेको आस्पतालले जनाएको छ । आपत्कालीन स्वास्थ्य सहायता आवश्यक परेमा ह्याम्स विपद् व्यवस्थापन सम्पर्क नं. ९८०१९०४६४० मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।