काठमाडौं, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १४ करोड १२ लाख १५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ करोड ९५ लाख ७७ हजार रुपैयाँको तुलनामा आठ दशमलव ९८ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५० दशमलव २६ प्रतिशतले बढेर ३० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । बैंकले समीक्षा अवधिमा एक करोड ६० लाख ६३ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो वर्ष २१ लाख ७० हजार रुपैयाँ इम्पेयरमेन्ट राइटब्याक भएको थियो । यसका बाबजुद सञ्चालन नाफा आठ दशमलव ६३ प्रतिशतले बढेर २० करोड १७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यसैगरी पछिल्लो अवधिमा बैंकको कुल निक्षेप रकम पनि ३६ दशमलव शून्य आठ प्रतिशतले बढेर आठ अर्ब ८५ करोड ३७ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने कर्जा रकम २९ दशमलव २५ प्रतिशतले बढेर छ अर्ब ६९ करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको बैंकको सञ्चित नाफा १६ करोड ३० लाख ४७ हजार रुपैयाँबाट घटेर १५ करोड ४८ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.०१ प्रतिशतले कम हो ।