काठमाडौं, सर्वोच्च अदालतले जनआस्था साप्ताहिका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले सोमबार सुनुवाइ गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश गरेको हो । श्रेष्ठ रिहा भइसकेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दीलिप घिमिरेले बताए ।
‘जाहेरी दरखास्तमा उल्लिखित तस्बिर जाहेरवाला आफँैले सामाजिक सञ्जाल फेसबुकमा प्रविष्ट गरेको भन्ने देखिएकोमा उक्त तथ्यलाई विपक्षीले लिखित जवाफमा अन्यथा खण्डन गर्न सकेको देखिएन’, आदेशमा भनिएको छ, ‘थुनामै राखी मुद्दाको तहकीकात अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था विद्यमान देखिएकाले हाजिरी जमानीमा छाडी मुद्दाको अनुसन्धान गर्नू भनी विपक्षी मध्येका जिल्ला प्रहरी परिसर, काठमाडौँको नाउमा परमादेश जारी हुने ठहर्छ ।’
पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अदालतमा पत्रकार श्रेष्ठलाई बरामद गरेका सामग्रीसहित उपस्थित गराउन आदेश दिएको थियो ।
अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सीयुपी, ल्यापटप, आइप्याड र मोबाइलसमेत फिर्ता दिन भनेको छ । पत्रकार श्रेष्ठलाई पक्राउ गरिए लगत्तै प्रहरीले गत साउन २७ र २८ गते जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा छापा मारेर कम्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो ।
अर्को जाहेरी दर्ता
पत्रकार किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएकै दिन श्रेष्ठविरुद्ध अर्को जाहेरी दर्ता भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरमा उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन् । श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको आरोप उपसभामुख ठाकुरले लगाएकी छन् ।
प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पु¥याएको जाहेरीमा उल्लेख छ । समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी उनको छ । उनैसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख छ । उनले जाहेरीसँगै प्रकाशित समाचार र फोटोका प्रति पनि पेस गरेकी छन् ।
यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ परेका थिए । वैयक्तिक गोपनियता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । श्रेष्ठको कार्यालय र घरबाट बरामद गरिएका सबै सामग्री पनि फिर्ता गरिएको छ ।