काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ, डिजेल–मट्टितेलमा ५ रुपैयाँले मूल्य बढाएको हो ।
यस्तै हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँले बढ्दा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिमि अमेरिकी डलर १३१ ले बढेको निगमले जनाएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार साउन १५ गते इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाइ इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा बढाएर पठाएको थियो । तर आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै आइतबार रातिबाट कम दरमा मात्र मूल्यवृद्धि गरिएको हो ।
योसँगै अब पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै राखिएको छ । यो मूल्य समायोजन गर्दा पनि निगमलाई १५ दिनमा एक अर्ब ४९ करोड घाटा हुने निगमको दाबी छ ।