काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउन पूर्वाधार र हवाई पहुँच विस्तार गर्ने बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबीच भएको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकाससम्बन्धी छलफलमा उनले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनले विकास साझेदारसँगको सहकार्यमा महत्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेको र दीर्घकालीन महत्वका अन्य आयोजना निर्माणको चरणमा रहेको जानकारी दिए । आचार्यले पोखरा बसपार्क निर्माण, फिर्के खोला कोरिडोर, फेवाताल संरक्षण, विकास तथा प्रवर्द्धनका कार्यक्रमलाई महानगरले प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको समुचित विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ महानगर सक्रिय रहेको बताए ।
महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराको पर्यटन प्रवर्द्धनका लागि महानगरले सञ्चालन गरिरहेका गतिविधि र पर्यटन सम्भावनाबारे प्रस्तुति राखेका थिए । कार्यक्रममा पोखराको पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।