काठमाडौं, देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित आइतबार राजधानीको संवाद डबलीमा जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेका छन् ।
‘कमन जेनजी नेपाल’ द्वारा आयोजित जेनजी संवाद कार्यक्रममा वक्ताहरूले जे=नजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको गैरजिम्मेवार भूमिकाको कडा शब्दमा आलोचना गरेका छन् । राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको निष्कर्ष निकाल्दै जेनजी अभियन्ताहरूले आगामी भदौ २३ गते खबरदारी र्यालीसहित सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् ।
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आउँदो भदौ २३ गते सरकारलाई खबरदारी सहित ज्ञापनपत्र बुझाउने जनाएका छन् । जेनजी आन्दोलनका पीडितलाई न्याय दिलाउन आफूहरुले सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको उनले बताए । पत्रकार सम्मेलनमा जेनजी अगुवाहरु रवि किरण हमाल, सौरव भण्डारी, कृष्ण मोहन सहनी, दिपेन्द्र विक, अमृत बोहरा, अभिनव वाग्ले, उज्वल शर्मा, रोनिश साहलगायतको विशेष सहभागिता रहेको थियो । विभिन्न जेनजी संगठनको नेतृत्वमा रहेका यी जेनजी अभियन्ताहरुले संयुक्त रुपमा भदौ २३ गते खबरदारीसहित ज्ञापनपत्र बुझाउन लागेका छन् ।

जेनजी आन्दोलनको बारेमा गठन भएको छानबिन आयोगको प्रतिवेदनअनुसार हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको टिप्पणीसमेत साहले गरेका छन् ।
‘वर्तमान सरकार जेनजीका हत्यारालाई कारबाही गर्न असफल देखिएको छ । हाम्रो अनुरोध छ, ती हत्यारालाई यथासिघ्र कारबाही गरोस् । यो सरकार जेनजी हत्यारालाई कारबाही गर्दैन भने कुर्सीमा बस्ने अधिकार छैन । ती हत्यारालाई कारबाही गरोस् कि कुर्सी छोडोस्,’ अध्यक्ष साहले भने ।
जेनजी आन्दोलन सुशासन, रोजगारी, भ्रष्टाचारीलाई कारबाहीका साथै राज्यको संरचनामा आमुल परिवर्तनका लागि भएको भए पनि त्यसतर्फ सरकार पूर्णरुपमा असफल भएको उनले गम्भीर आरोप लगाए ।
‘हिजोका दिनमा जेनजीका ठेकदार र राज्यका ठेकदारहरूसंग प्रश्न गर्ने समय आयो, सम्झौताको नाममा जेनजी आन्दोलनमाथी ठूलो घात किन गरेको ? जेनजी हत्यारालाई अझै कारबाही किन नगरेको ? जेनजीको माग सम्बोधन गर्न तपाईलाई कुन शक्तिले रोकेको छ ?,’ साहले प्रश्न गरे ।
राज्य अहिले विघटनतिर अग्रसर भएको भएको बताउँदै उनले राज्यप्रति जनताको अविश्वास बढदै गइरहेको बताए । विश्वमा इतिहास रची नेपालको गौरव बढाउँन सफल जेनजी आन्दोलनको सम्मान बढाउँन, देशको अस्तित्व जोगाउन, मुख्यतः वर्तमान अवस्थामा आमूल परिवर्तन गर्न वर्तमान सरकारसंग उनले अनुरोध पनि गरे ।
‘हामीले वर्तमान सरकारलाई अपील गर्दछौं । देशमा आमूल परिवर्तन चाहेका जेनजी संगठन तथा अभियानता, अग्रगामी भूमिका खेल्ने विभिन्न दल–नेता, सशक्त तथा सक्रिय शक्तिहरूका साथै आम नागरिक तथा युवाहरूलाई हामी साथ सहयोगको अपील गर्दछौं । वर्तमान परिस्थितिबाट निकासको निमित्त जेनजी आन्दोलन पूर्णगठन गरी सरकारलाई यही भदौ २३ गते खबरदारीसहित ज्ञापन–पत्र बुझाउन अग्रसर छौं । तथापि सरकारले जेनजी आन्दोलनका मागहरू सम्बोधन गरेन भने हामी दोस्रो जेनजी आन्दोलन गर्न बाध्य हुनेछौं,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।
पत्रकार सम्मेलनमा सहभागी जेनजी अगुवाहरुले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । आउँदो २३ भदौमा सरकारविरुद्ध प्रदर्शन गर्नुको विकल्प नभएको समेत उनीहरुले बताए ।
उनीहरुले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वानसमेत गरेका छन् ।