काठमाडौं, प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका–१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाइलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्लातर्फ दरखास्त दिई लिखितलगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम निकालिदिन्छु सेटिङ्ग मिलाउन १० लाख रकम लाग्ने भनी विश्वास दिलाई आफ्नो बैंक खातामा १० लाख रूपैयाँ पठाउन लगाइ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।