काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ग्याट्सबे इन्टरनेसनल कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका–२ बस्ने महालक्ष्मी नगरपालिका–१० घर भएका ३९ वर्षीय सन्त बहादुर लामा र काठमाडौं तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा आरूघाट गाउँपालिका–५ घर भएका ३१ वर्षीय रमेश धमला रहेका छन् ।
पक्राउ मध्ये प्रतिकले जापान पठाइदिन्छु भन्दै १ सय १५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र रमेशले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रतिकलाई रूपन्देही बुटवलबाट सोमबार, सन्त बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका–१० बाट र रमेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।