काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुका दुःखद् घटनाप्रति सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पार्न सक्ने दीर्घकालीन प्रभावप्रति संवेदनशील हुन आग्रह गरेका हुन् । थापाले यस्ता घटनालाई राजनीतिक आरोप/प्रत्यारोपमा मात्र सीमित नगरी घटनाको गहन छानबिनमार्फत वास्तविक कारण, अफवाह, भीड परिचालन र सुरक्षा कमजोरीको पहिचान गर्नुपर्ने बताए ।
उनले विगतका घटनाबाट पाठ सिक्दै भविष्यमा हिंसा हुनुअघि नै जोखिम पहिचान र हस्तक्षेप गर्न प्रभावकारी पूर्वसूचना तथा रोकथाम प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । ‘सामाजिक सञ्जाल, दुष्प्रचार, एआई प्रविधि र डीपफेकमार्फत केही घण्टामै हिंसा भड्किन सक्ने वर्तमान परिवेश छ, यसलाई सम्बोधन गर्न कानुनी संयन्त्रसहित डिजिटल जोखिम नियन्त्रण, सुरक्षा संयन्त्रको आधुनिकीकरण तथा एकीकृत सुरक्षा प्रणाली निर्माण गर्न आवश्यक छ,’ थापाले भने । सांसद थापाले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै समुदायका धर्मगुरू तथा सरोकारवालाको सहभागिता रहने गरी सर्वपक्षीय संयन्त्र गठन गर्न र साम्प्रदायिक संवेदनशीलता एवं सम्भावित जोखिमको निरन्तर मूल्यांकन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरे ।
यसैगरी, थापाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको प्रमाण हामीसँग रहेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति वीर पुर्खाको सम्मान, मातृभूमिप्रतिको अथाह प्रेम र क्षेत्रीय अखण्डताप्रतिको प्रतिबद्धता भएको टिप्पणी गरे। उनले यस विषयलाई उत्तेजना वा द्वन्द्वको माध्यम नबनाइ कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिए ।
सांसद थापाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र मातृभूमिको अखण्डता जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै सीमा तथा साम्प्रदायिक संवेदनशीलतामा राज्य थप गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।