धनुषा, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको घरदैलोमा पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषाको विभिन्न स्थानका किसानहरुलाई भेटेर उनले रसायनिक मलको मात्रै भर नपर्न आग्रह गरेकी हुन् । माटो सुधारको लागि स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग गर्न उनले किसानहरुलाई आग्रह गरिन् । ‘माटो सुधार नै कृषि सुधारको आधार हो । स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउनुस्’, उनले किसानसंग भनिन् । यसले रासायनिक मलमाथिको निर्भरता पनि घट्दै जान्छ र माटो सुधार पनि हुँदै जान्छ ।
यस्तै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकनसमेत गरेकी छिन् । लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत कस्टम हायरिङ केन्द्र संचालनमा रहेको छ । केन्द्रले आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ ।
यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालिको पनि अवलोकन गरेकी थिइन् । कम्पनीले व्यवसायिक माछापालनसँगै माछाको भुरा, दाना तथा आवश्यक औषधिको आपूर्ति गर्दै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्याउँदै आएको छ । त्यसैगरी, मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेकी थिइन् ।