काठमाडौं, बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शीतल चिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी सार्वजानिक गरिएको कम्पनीले जनाएको छ । पूर्वमन्त्री भगवती चौधरीले उत्पादनको औपचारिक सार्वजनिक गर्दै प्राकृतिक र शुद्ध खाद्य उत्पादनले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताइन् । उनले सुनसरीको बराहक्षेत्र–१ मा उत्पादन गरिएको बराह मोरिङ्गा भिटामिन, खनिज तथा प्रोटिनको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वस्थ जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनको भनाइ थियो ।
चौधरीका अनुसार मोरिङ्गाले शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ । मधुमेह, उच्च रक्तचापलगायत जीवनशैलीसँग सम्बन्धित समस्यामा समेत यसको उपयोगिता रहेको उनले उल्लेख गरिन् । मोरिङ्गाको फल स्वादिष्ट र पोषणयुक्त भएकाले यसको उत्पादन र उपभोग विस्तार गर्न आवश्यक रहेको उनले जोड दिइन् । ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापनमा स्थानीय आदिवासी तथा जनजाति महिलाहरूको सक्रिय सहभागितामा उत्पादन गरिएको बराह मोरिङ्गालाई देशव्यापी रूपमा विस्तार गर्दै ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता र युवाको स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
कार्यक्रममा यूएनडीपी, डीजेडआइ फाउन्डेसन र एलडब्लूआरको वित्तीय तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको यस परियोजनाले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको थियो । फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिङ्गाको उत्पादनमा शुद्धता र गुणस्तरलाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा यसको उत्पादन, ब्रान्डिङ र बजार विस्तारलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।