बगदाद, संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्तरूपमा गरेको इरान युद्ध र इरानले हर्मुज जलमार्ग बन्द गरेपछि यसका कारण मध्यपूर्वमा देखिएको तनावबीच अगस्ट महिनाको सुरुवातदेखि इराकको औसत दैनिक तेल निर्यात युद्ध सुरु भएयता सबैभन्दा उच्च रहेको इराकको पेट्रोलियम पदार्थ (तेल) मन्त्रालयले बताएको छ ।
इराकी तेल मन्त्री बस्सेम मोहम्मद खुदैरले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘महिनाको सुरुवातदेखि निर्यात दैनिक २० लाख ब्यारेलको दरमा पुगेको छ । यसबाट अगस्टमा कूल दुई करोड ६० लाख ब्यारेल इन्धन निर्यात भएको छ । यो दैनिक दर ‘संकट सुरु भएयता पहिलोपटक’ उच्चतम हासिल भएको हो। फेब्रुअरी २८ मा अमेरिकी–इजरायली हमलापछि इरानले विश्वव्यापी तेल र ग्यास व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग बन्द गरेर जवाफी कारबाही गरेपछि संकट सुरु भएको थियो ।
युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल उत्पादन गथ्र्यो र मासिक औसत १० लाख ५० हजार ब्यारेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश बसरा तेल टर्मिनलबाट होर्मुजमार्फत बाहिर जान्थ्यो । इराकको तेल बिक्री सङ्गठन (सोमो) का प्रमुख अली निजारले गत हप्ता राष्ट्रिय टिभीसँगको अन्तर्वार्तामा भनेका थिए, ‘इराकले जुलाईमा हर्मुजमार्फत ‘तीन लाख ५५ हजार देखि तीन लाख ७० हजार ब्यारेल’ निर्यात गरेको थियो ।
अर्को ७० लाख ब्यारेल टर्कीको सेहान बन्दरगाहसम्म पुग्ने पाइपलाइनमार्फत निर्यात भएको थियो । सोमोको तथ्यांकअनुसार, इराकले मे र जुन महिनामा विभिन्न मार्गहरूबाट जम्मा तीन करोड २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको थियो, जसमध्ये दक्षिणी बन्दरगाहबाट दुई करोड ब्यारेलभन्दा बढी निर्यात भएको थियो ।
ओपेकको संस्थापक सदस्य इराकले भण्डारहरू भरिएका कारण युद्धका बेला धेरैजसो तेल प्रशोधन केन्द्रहरूमा उत्पादन रोक्न बाध्य भएको थियो । जलमार्ग अवरुद्ध भएकाले उसले सिरिया हुँदै ट्यांकरमार्फत र टर्की जाने पाइपलाइनमार्फत कच्चा तेल निर्यात गर्न थालेको एएफपीले जनाएको छ ।