काठमाडौं, नेपाल प्रहरीले भोटेकोशी बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारजनलाई विशेष आर्थिक सहयोगस्वरूप तत्काल प्रतिव्यक्ति १० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा प्रहरी हेडक्वार्टरमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोडसमेत प्रदान गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
बैठकले बाढीपछि सम्पर्कविहीन प्रहरीको खोजीका लागि सम्बन्धित परिवारको समन्वयमा विशेषज्ञ सहितको टोली परिचालन गर्ने निर्णय गरेको छ । यही भदौ १० गतेको भोटेकोशी बाढीमा परी २५ प्रहरी अझै बेपत्ता छन् । दिवंगत प्रहरीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने र उनीहरूको परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गर्ने बैठकको निर्णय छ । उनीहरूका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायकपर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षा निःशुल्क प्रदान गर्ने समितिको निर्णय छ ।
बैठकले बाढी प्रभावित क्षेत्रका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरीको व्यक्तिगत सामग्री क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिए ।