काठमाडौं, रसुवाबाढीले नेपालको पर्यटन क्षेत्रमा पनि ठूलो असर पुर्याएको छ । बाढीले मानवीयसंगै भौतिकरुपमा ठूलो क्षति पुर्याएको हो । पाँच सय ५३ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् भने २ सय ७३ जनाको उद्धार गरिएको छ ।
बाढीले भौतिक क्षति पनि अर्बौँको पुर्याएको छ । रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले पर्यटन व्यवसाय र पूर्वाधारको क्षति र भविष्यमा पार्न सक्ने आर्थिक असर समेतका आधारमा उक्त अनुमान गरिएको बताए । उनका अनुसार बाढीपहिरोबाट १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षति भएको छ । त्यस क्षेत्रका विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको उनले बताए ।
लाङटाङ, गोसाइकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेकाले वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था बनेको उनको भनाइ छ । सरकारले बाढीबाट प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आवश्यक अन्य स्थानमा ‘डेस्क’ स्थापनाको प्रक्रिया अगाडी बढाएको उनले जानकारी दिए । जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नुपरेको बताए । जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
मन्त्री पौडेलले विपद्का कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान नदिन अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी सञ्चार आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय स्तरमा पहुँच भएका जोसुकै व्यक्तिलाई पनि नेपाल सुरक्षित रहेको र नेपालको पर्यटन उद्योग पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश विश्वभर पुर्याउन सुझाव दिए । ‘प्राकृतिक विपत्ति संसारका जुनसुकै ठाउँमा हुन सक्छ । यसले नेपालको पर्यटन उद्योगलाई भत्काउन सक्दैन । हामी अझै उभिएका छौँ र पर्यटकलाई स्वागत गर्न तयार छौँ’, उनले भने । मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको पीडाबारे विश्व समुदायलाई जानकारी गराउनुपर्ने र अर्कोतर्फ नेपाल पर्यटनका लागि सुरक्षित र खुला रहेको सन्देश दिनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले बाढी प्रभावित क्षेत्रलाई मन्त्रालयमार्फत ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने योजना अघि बढाइएको पनि बताए । त्यस क्षेत्रमा सङ्ग्रहालय, स्मारक, पार्क वा अन्य संरचना निर्माण गर्ने उनको भनाइ छ ।
बैठकमा सहभागीहरूले बाढीबाट पर्यटन क्षेत्रमा गम्भीर असर परेको बताए । अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न विशेष रणनीतिका साथ अभियान सञ्चालन गर्नुपर्नेमा उनीहरूको भनाइ छ । समितिकी सभापति सुम्निमा उदासले ‘नेपाल सुरक्षित छ’ भनेर मात्र पुग्ने अवस्था नरहेको बताउँदै पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायमा विश्वास पैदा हुनेगरी सरकार र निजी पर्यटन क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताइन् । विपद्पछि नेपालको पर्यटनबारे सकारात्मक र विश्वसनीय सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइन् । सांसद जगदीश खरेलले रसुवामा हराइरहेका विदेशी पर्यटकका परिवार तथा आफन्तलाई भिसामा सहजीकरण र होटलमा छुट दिनुपर्ने बताए । प्रधानमन्त्री राहत कोषबाट पर्यटन पुनःस्थापनाका लागि कम्तीमा १५ प्रतिशत रकम छुट्याउनुपर्ने उनको भनाइ थियो ।
सांसद प्रमेश हमालले जलवायु परिवर्तन र जलवायु न्यायलाई अब पर्यटन नीतिको केन्द्रमा राख्नुपर्ने बताए । हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपालले क्षति तथा नोक्सानीको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । सांसद सन्दीप रानाले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै विदेशी पर्यटकका परिवारलाई सूचना तथा समन्वयका लागि छुट्टै सहायता कक्ष स्थापना गर्नुपर्ने बताए । हराइरहेका आफन्तबारे सूचना नपाउँदा परिवारमा बढेको त्रास कम गर्न एकीकृत सूचना प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले पर्यटन पुनरुत्थानका लागि ‘कलिङ नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउने तथा आवश्यक परे हवाइ भाडा र होटलमा छुट वा निःशुल्क सुविधा उपलब्ध गराउने प्रस्ताव अघि बढाइएको जानकारी दिए । बैठकमा पर्यटन क्षेत्रका सरोकारवालाले खोज तथा उद्धार, पर्यटकको यथार्थ तथ्यांक व्यवस्थापन, प्रभावित पर्यटन श्रमिकको सामाजिक सुरक्षा तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको विश्वसनीयता पुनःस्थापित गर्ने अभियानलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।