काठमाडौं, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेको जलविद्युत् आयोजनाको सुरुङमा उद्धारमा ढिलाइ भएको छ । जलविद्युत् आयोजनाको सुरुङमा जान सक्ने बाटो समेत अभाव हुँदा विद्युत् सुरुङभित्रको उद्धार ढिलाइ हुन पुगेको छ ।
नेपाली सेनाका अनुसार बाटोको अभावका कारण जलविद्युत् आयोजनाको सुरुङ तथा टर्बाइनहरूमा फसेकाहरूको उद्धार गर्न कठिनाइ भएको हो । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजराम बस्नेतले जलविद्युत् आयोजनाको सुरुङमा पुग्न बाटाको अभाव रहेको तथा सुरुङमा लेदो भरिएको कारण उद्धारमा कठिनाइ भएको बताए । बस्नेतका अनुसार चारवटा जलविद्युत् आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्य भएपनि १११ मेगावाटको रसुवागढी हाइड्रोपावरको विशेष गरी टर्बाइन क्षेत्रमा बाक्लो गरी पानी र लेदोले भरिएकोले हाललाई खोजी कार्य बन्द गरिएको छ ।
‘रसुवागढीमा इन्जिनियरलाई साथमा लिएर गएका थियौँ तर पानी र लेदोको कारणले गर्दा उद्धार कार्यक्रम स्थगित गर्नुपर्ने अवस्थामा हामी पुगेका हौँ’, उनले भने । यसैगरी उद्धार टोली लाङटाङको सुरुङमार्गको ६५ मिटरभित्र प्रवेश गरेको छ । त्यसपछि भने हिँड्ने सक्ने अवस्था नभएको कारणबाहिर निस्कुन परेको हो । करिब दुई फिटभन्दा पनि कम ठाउँ भएको हुँदा भित्र जान सक्ने अवस्था नभएसँगै उद्धार टोली फर्केको छ । भित्र पस्नका लागि प्रयास गरे पनि सम्भव नभएपछि फिर्ता भएको सेनाले जनाएको छ । लाङटाङको सुरुङमार्गमा भने एउटा शव फेला पारेको छ ।
चिलिमे जलविद्युत् आयोजनामा भने खोजी कार्यले निरन्तरता दिइएको छ । नेपाली सेनाले विदेशीसहितको संयुक्त उद्धार टोलाीले खोजी कार्यलाई निरन्तरता दिएको छ । विद्युत् टनेलमा छ जना फसेका आंशका गरिएको छ । बाढी आएको दिन २० देखि २५ जना कर्मचारीले भागेर ज्यान जोगाएका थिए । बाढी आएको दिन कार्यालय जाने समय नभएको कारण क्याम्पा रहेका कर्मचारीहरूले भागेर ज्यान जोगाउन सफल भएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलविद्युत् आयोजनाको सुरुङ र टनेलमा फसेका ४९ जना सम्पर्कविहिन अवस्थामा रहेको जनाएको छ । बाढी गएको एक साता बित्दा समेत जलविद्युत् आयोजनाको सुरुङमा फसेका ४९ जना कर्मचारी र सुरक्षा गार्ड सम्पर्कविहिन अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता मोहन कुमार शाक्यले सबैभन्दा बढी माथिल्लो त्रिशूली ३ ए जलविद्युत् केन्द्र (६० मेगावाट)मा कार्यरत ४२ जना कर्मचारी तथा श्रमिक सम्र्पकविहिन भएको बताए । ‘त्रिशूली जलविद्युत् केन्द्र–(२४ मेगावाट)मा कार्यरत एक जना कर्मचारी र दुई जना सुरक्षा गार्ड र देवीघाट जलविद्युत् केन्द्र–(२४ मेगावाट)मा कार्यरत एक जना सुरक्षा गार्ड र रसुवा वितरण केन्द्रमा कार्यरत एक जना श्रमिक, त्रिशूली ३ बी हव २२० केभी सबस्टेसनमा कार्यरत एक जना सुरक्षा गार्ड र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन छन्’, उनले भने ।
मन्त्रालयका अनुसार जलविद्युत् उत्पादन केन्द्र, वितरण केन्द्र, ग्रीड सबस्टेसन तथा प्रसारण लाइन आयोजनाहरूबाट प्राप्त विवरणअनुसार सम्पर्कविहीन अधिकारीहरूसँग खोज तथा उद्धार गर्ने कार्य चौबीसै घण्टा निरन्तर चलिरहेको छ ।
ढुङ्गा, बालुवा, माटोलगायतका पदार्थहरू थुप्रिएको कारण त्रिशूली नदीको लेबल पहिलेको भन्दा निकै उच्च रहेको र टनेलको मुख्य प्रवेशमार्गलगायत पावर हाउस क्षेत्र समेत धेरै पुरिएको अवस्थामा त्यहाँसम्म पुग्न विभिन्न उपकरणको प्रयोग गरी केवल टनेलबाट पावर हाउसभित्र प्रवेश गर्ने बाटो बनाउने कार्य भइरहेको छ । सो क्रममा ठूला–ठूला ढुङ्गाहरू भेटिएकोले ‘ब्लास्ट’ गरी पन्छाउने कार्य भइरहेको बताइएको छ । टनेलको मुख खोलाको लेबलभन्दा तल रहेकोले टनेल र हाल बनाइएको प्रवेश मार्गमा जम्मा भएको पानी बाहिर फाल्ने कार्य जारी राखिएको छ । जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम एवं सम्पूर्ण आवश्यक सामानहरू पु¥याउने चुनौतीसमेतलाई छिचोल्दै नेपाल विद्युत् प्राधिकरणले आफ्ना सम्पूर्ण स्रोत साधनहरूलाई अधिकतम परिचालन गरी विपद्मा परेका कर्मचारी तथा श्रमिकको खोज तथा उद्धारकार्य निरन्तर गरेको जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौवटा जलविद्युत्् आयोजनामा कार्यरत आठ सय ९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये तीन सय ६१ जनाको उद्धार भइसकेको छ । भने बाँकी पाँच सय ३७ जना सम्पर्कविहीन छन् । बाढीले आयोजना क्षेत्र, सुरुङ, पहुँचमार्ग र निर्माण शिविरमा ठूलो क्षति पुर्याएपछि सयौँं कर्मचारी र मजदुरसँग सम्पर्क टुटेको हो ।
दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट पाँच सय ७६ जना सम्पर्कविहीन भएका मध्ये दुई सय ५४ जनाको उद्धार भइसकेको छ । सोही आयोजनाको सुरुङमा अझै पनि तीन सय जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ ।
त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भएका हुन् । रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ । लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ ।
त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन् । मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट एक सय २२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जिवितै उद्धार गरिएको हो । मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन् ।