विराटनगर, विराटनगर भन्सार र भन्सारबाट जाँचपास भएर छुटेको एक मालबाहक ट्रकलाई विराटनगस्थित रोडशेष चौकबाट सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएर पुनःभन्सार जाँचपासका लागि विराटनगर भन्सारमै फिर्ता पठाएको छ ।
गत आइतबार राती ९ बजे विराटनगर भन्सारबाट लगिन नम्बर २८१ प्रयोग गरी पोद्दार क्लियरिङ्ग एजेन्सीले भन्सार जाँचपास गराएको सामानमा भन्सार घोषणा गरेको भन्दा बढी सामान गाडीमा लोड भएको पाइएपछि सशस्त्रले पक्राउ गरी विराटनगर भन्सारमै बुुझाएको हो । पोद्दार क्लियरिङ्ग एजेन्सीकै नामबाट जारी गरिएको विराटनगर भन्सारको प्रज्ञापनपत्रका साथ सामान बोकेको भारतीय नम्बर एनएल ०२० क्यू ०५३३२ नम्बरको ट्रक रोडशेष चौकमा पुुगेपछी सशस्त्रले नियन्त्रणमा लिएको थियो ।
सशस्त्रले नियन्त्रणमा लिएर उक्त सामान सहितको ट्रक नै पुुनः जाँचपास गर्न भन्सारमै फिर्ता पठाइदिएको थियो । प्रज्ञापनपत्रमा उल्लेखित परिमाणभन्दा बढी रहेको उक्त ट्रकभित्रको सामान विराटनगर भन्सार कार्यालयले पुुनः जाँचपरिक्षण गर्दा करिब ७५ हजार मूल्य बराबरको सामानमा राजस्व छली भएको पाइएको हो । पोद्दार क्लियरिङ्ग एजेन्सीलाई जरिवाना गरी गाडीमा भएको सामान र गाडी छोडिएको प्रमुुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।
ट्रकमा भएको सामानमा देखिएको छलीमा जरिवाना गरे तापनि आईसीपीमा पार्किङ्ग गरी राखिएको ट्रक पछाडीको झाडीमा फालिएका करिब १५ कार्टुुन सामान भेटिएको थियो । सो विषयमा विराटनगर भन्सारले भन्सार अधिकृत विमल कुमार साह र सुुब्बा कमल प्रसाद भण्डारीलाई आवश्यक अनुुसन्धान गरी प्रतिवेदन बुझाउन विराटनगर भन्सारले निर्देशन दिएको छ ।
भन्सार अधिकृत साह र सुब्बा भण्डारीले आवश्यक अनुसन्धान गर्न भन्सारले आफूहरूलाई दिएको जिम्मेवारीअनुसार अनुसन्धान गरी भन्सारमा आफ्नो प्रतिवेदन बुुझाएको जानकारी दिए । तर, भन्सार कार्यालयले यसको पुनःपरीक्षण र चेकजाँच गरेर प्रतिवेदन बुुझाए पनि अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्सारस्रोतले बताएको थियो ।
स्रोतले दिएको जानकारीअनुसार सशस्त्रले पक्राउ गरेको उक्त ट्रक गत सोमबार नै भन्सार कार्यालयमा बुझाइएको थियो । उक्त ट्रकमा धेरैवटा फर्मको सामान रहेको तथ्य पनि खुलेको थियो । जाँचपास गराउँदा घोषणा गरे बाहेकको सामानसमेत रहेको सूचना बाहिरिएको थियो । ट्रकमा १५ कार्टुन सामान बढी रहेको दाबी गरिएको छ । भन्सार कार्यालयको मुद्दा फाँटले अधिकृत साह र सुब्बा भण्डारीबाट अनुसन्धान गराइसकेको कुरा बुझिएको छ । तर मुद्दाफाँटले गरेको १५ कार्टुनको अनुसन्धानमा के छ भन्ने कुुरा रहस्यमै राखिएको छ ।