जनकपुरधाम, धनुषा प्रहरीले भन्सार छली गरी ल्याएका करिब २३ लाख ३० हजार रुपैयाँ बराबरका सामानसहित एक विद्युतीय (ईभी) भ्यान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार प्रहरीको नियमित जाँचका क्रममा भ्यानभित्र भन्सार छली गरी ल्याइएका २८ कार्टुन माल्किस्ट बिस्कुट, ११८ प्याकेट नरिवल चकलेटसहित ईभी भ्यान नियन्त्रणमा लिएको हो । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब निरीक्षक तथा प्रहरी चौकी वलुवाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले जनकपुर उपमहानगरपालिका–८ रत्नसागर क्षेत्रमा चेकजाँचका क्रममा रत्नसागरबाट मुजेलियातर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ००८४ नम्बरको यात्रुवाहक ईभी भ्यानलाई रोकी जाँच गरेको थियो ।
प्रहरीले भ्यान चालक सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९, धर्मपुर निवासी २० वर्षीय बाबुराम लिम्बुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइ अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सामानको कुनै बिलबिजक पेस गर्न नसकेपछि आवश्यक कानुनी कारबाहीका लागि बरामद सामान, भ्यान तथा चालकलाई भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ । बरामद सामानमा २८ कार्टुन माल्किस्ट बिस्कुटको करिब १ लाख २० हजार, ११८ प्याकेट नरिवल चकलेटको मूल्य १० हजार तथा ईभी भ्यानको मूल्य २२ लाख रुपैयाँ रहेको छ । बरामद वस्तु तथा सवारीसाधनको कुल अन्दाजी मूल्य २३ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।