काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप जनशक्तिसहित ४ हजार ८ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा वेश क्याम्प स्थापना गरी खोजीकार्यलाई तिब्रता दिएको छ । परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकहरूकासाथै मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली र प्राथमिक उपचारको लागि चिकित्सकसहितको टोली रहेका छन् । यसका साथै भत्किएका संरचनामा खोज तथा उद्धारको लागि छुट्टै ४४ जनाको टोलीसमेत परिचालन गरिएको छ ।
खोजीकार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले ५ वटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड र ७ वटा के–नाईन डगसमेत परिचालन गरेको छ । बाढी प्रभावित विभिन्न ठाउँमा सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीसमेत खटिएको छ । बाढीमा परेकाहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालले अन्य थप जनशक्तिसमेत तयारी अवस्थामा राखेको छ ।
बाढीमा परेकाहरूको सशस्त्र प्रहरीको एकल प्रयासमा ३२ जना तथा संयुक्त प्रायसमा गरी १ हजार ४ सय ७३ जनाको सकुशल उद्धार गरिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीतटीय भेगमा प्रभावित विभिन्न ४८ वटा वडाहरूमा रहेका १२ सय भन्दा बढी विपद् सूचकहरू मार्फत सूचना संकलन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि विभिन्न ठाउँमा होल्डिङ् सेन्टर निर्माण गर्नुकासाथै राहत सामग्री ढुवानीमा सक्रियतापूर्वक खटिएको छ । घटना भएको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर स्थापना गरी निरन्तर सेवा दिइरहेकोमा हालसम्म एक सय ४३ जनाको उपचार गरेको छ ।
यसैगरी, सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न ८ वटा जेनेरेटर, आवश्यक इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामग्रीहरू बाढी प्रभावित क्षेत्रहरूमा सुरक्षित रूपमा पुर्याएको छ ।
त्यसैगरी बाढी प्रभावित क्षेत्रबाट सशस्त्र प्रहरीको एकल प्रयासले मात्र १ सय १० जनाको शव फेला पारेको छ भने नेपाली सेना, नेपाल प्रहरी र विभिन्न निकायको संयुक्त प्रयासबाट समेत गरी ५ सय ५६ जनाको शव फेला पारिएको हो । भोटेकोशी बाढीको कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीको सवारी साधनमा राखी काठमाडौं ल्याएको छ । साथै उद्धार र सहायताका लागि सशस्त्र प्रहरी बल नेपालको निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।