काठमाडौं, एक्स्ट्रिम इनर्जी ड्रिंग्सले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न १ करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंग्सले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।
कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुनर्स्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।