काठमाडौं, नेपाल उद्योग परिसंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको हो । परिसंघको समन्वयमा परिसंघ सदस्य संस्थाहरुले पनि सहयोग हस्तान्तरण गरेका छन् ।
परिसंघका अनुसार अर्थमन्त्री वाग्लेलाई एमएडब्लू गु्रपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले एक करोड ११ लाख, परिसंघ गभर्निङ काउन्सिल सदस्य उद्योगी विजय कुमार शाहले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । यस्तै जावलाखेल डिष्टिलरीबाट एक करोड, हिमालयन डिष्टिलरीबाट एक करोड, हिमालयन बुलियन कम्पनीबाट एक करोड एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । चौधरी गु्रप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको परिसंघले जनाएको छ । नेपाल आदर्श निर्माण कम्पनीबाट १० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको परिसंघले उल्लेख गरेको छ ।
यसैगरी गुड होम प्रडक्टस्बाट दुई लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट दुई लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट एक लाख १२ हजार, कास ट्रडिङबाट एक लाख ११ हजार एक सय ११, सिल्भर लाइनिङबाट एक लाख ११ हजार एक सय ११, ग्लोकल प्रालिबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान भएको छ । परिसंघको समन्वयमा गोर्खा बु्अरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको छ ।
कोषमा आर्थिक सहयोग गर्ने क्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राज बहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरु, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसंघ महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए । परिसंघले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीहरुलाई रसुवा बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोध समेत गरेको छ ।