काठमाडौं, नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ ।
नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा शनिवार सेवा सुचारु गरेको हो । यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन् । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो । रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सुचारु भएको छ ।
यसैगरी नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि सेवा सञ्चालनमा आएका छन् । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । यी वाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सुचारु भएका छन् ।
यसै बिच फिल्डमा खटिएका प्राविधिकहरुको मनोवल उच्च राख्न तथा सेवा सुचारु कार्यलाई थप प्रभावकारी बनाउनका लागि कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) समेत नुवाकोट लगायतका प्रभावित क्षेत्र पुगेकी छिन् ।
कम्पनीले यसअघि हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा बिहीवार नै मोबाइल स्टेशन सञ्चालनमा ल्याएको थियो । यस्तै शुक्रबारदेखी नै टेलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न निरन्तर कार्यक्षेत्रमा खटिइरहेको कम्पनीले जनाएको छ । टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।