जनकपुरधाम, मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो ।
मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी सय प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा सोही क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए । सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा हालसम्म ६१ हजार दुई सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । धनुषामा ८५ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार नौ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।