काठमाडौं, माउण्टेन इनर्जी नेपाल लिमिटेडको नाफा २९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २९ दशमलब ०८ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले समिक्षा अवधीमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १७ दशमलब ३१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीले बीमा दाबी वापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २४ करोड ४३ लाखबाट घटेर २० करोड १९ लाख कायम भएको छ । कम्पनीको संचालन मुनाफा पनि ८९ करोड १८ लाखबाट बढेर १ अर्ब नाघेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रहेको छ । कम्पनीले मनाङमा अवस्थित ६५ मेगावाट क्षमताको दुधखोला आयोजना निर्माणको तयारी गरेको छ । हालै मात्र आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३.७२ रुपैयाँबाट बढेर २५.५२ रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रति शेयर आम्दानी कायम गर्न सफल भएको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १५०.७८ रुपैयाँ रहेको छ । कम्पनीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।