काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो ‘एमबीएल एम–स्मार्ट’ मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताले नियमित लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । बैंकका अनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी मोबाइल बैंकिङ एपमार्फत मर्चेन्ट क्यूआर प्रयोग गरेर डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभाग (आईआरडी) को प्रणालीमा समावेश हुनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता नपर्ने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकका ग्राहकले ‘एमबीएल एम–स्मार्ट’ एपमा लगइन गरी ‘बिल जितौँ’ मेनुमा प्रवेश गरेपछि आईआरडी उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन् ।
आन्तरिक राजस्व विभागले योग्य कारोबारका आधारमा नियमित लक्की ड्र सञ्चालन गर्ने व्यवस्था गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेतालाई कर कट्टापछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा मर्चेन्ट क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान÷भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा ‘एमबीएल एम–स्मार्ट’ एपको ‘बिल जितौँ–आईआरडी’ मेनुमार्फत आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।
बैंकले डिजिटल बैंकिङलाई अझ सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । साथै ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित कार्यक्रममा सक्रिय सहभागिताका लागि ग्राहकलाई आह्वान गरेको छ ।